राधा र कृष्ण

Stream of Consciousness

Art Source : Anna
राधा र कृष्ण धार्मिक आस्थाको कारण होस् या प्रेमको उच्च उदाहरण, हामीलाई यो नाम नौलो भने पक्कै होइन । हजुरबाले सुनाउनुभएको कथामा, हजुरआमाले सिकाउनुभएको भजनमा या आमाको हरेक दिनको पूजामा हामीले सुन्दै आएको नाम हो राधाकृष्ण । बसन्तहरुको यात्रासंगै कथा र कविता अनि रेडियो र टेलिभिजनले बुझाउँदै आएको नाम हो राधाकृष्ण । तर के भयो कुन्नि एकादेशमा राधालाई कृष्णदेखि रिस पो उठ्न थालेछ ।
मैले उसलाई कहिल्यै माया नै गर्दिन भनेर भनेको त छैन नि ? न मैले उसलाई कुनै किसिमको नराम्रो शब्द नै बोलेको छु ? तर पनि किन उ यो  कुरालाई कहिल्यै बुझ्ने प्रयास गर्दैन ? किन मेरो मनको भावनालाई सम्मान गर्दैन ? के म नराम्री छु ? के ममा कुनै पनि प्रकारका संवेदनाहरु छैनन् ? जसले जे भनोस् अब मलाई केहि पनि फरक पर्दैन । किनभने म सही छु भन्ने कुरामा कुनै दुई मत छैन ।
प्रत्येक दिन जब मेरो सामुन्ने उ उभिएको हुन्थ्यो लाग्थ्यो उ मलाई हँसिलो मुद्रामा जिस्काईरहेको छ । र म उसको त्यो जिस्काईलाई बुझिरहेको छैन भन्ने कुरामा संकेत गरिरहेको हुन्थ्यो । बिभिन्न बहानामा मेरो नजिक आउने र मेरो क्रियाकलापलाई नियाल्ने प्रयास गरिरहेको हुन्थ्यो । मेरा संगीहरुसंग बसेर उ सधै जिस्किरहेको हुन्थ्यो र मलाई देख्ने बित्तिकै आफू सम्हालिएकोजस्तो अभिनय गर्थ्यो । के म यी कुराहरुलाई बुझ्दिन जस्तो लाग्छ उसलाई ? के मेरा संगीहरुसंग उसले गरेको कुराहरु मलाई थाहा हुन्न भन्ने सोच्थ्यो उसले ? मेरै नजिक आएर मलाई नै मेरै कार्यहरुमा निगरानी गरेको  कुराहरु के म सोच्न सक्दिन ? के उसले हाँसेर मेरो अगाडि आएर मलाई जिस्काउदाँ पनि म के केहि पनि बुझ्दिन ? म तिमीलाई प्रेम गर्छु भनेर बुझाउन गरेका हरेक उसका क्रियाकलापहरुलाई  मैले राम्रोसंग बुझेको पनि छु र थाहा पनि पाएको छु ।
तर मैले कहिल्यै पनि उसलाई प्रेमको नजरबाट हेरेको थिइन । उसैले मलाई प्रेमको बारेमा बुझाउने धेरै प्रयास गरेको थियो । हरेक दिन मैले उसको आँखामा कहिल्यै नदेखेको भावहरु देख्न थालेको थिएँ । म नचाँहदा नचाँहदै उसको बारेमा सोच्ने भएको थिएँ । एकदिन पनि उसलाई मेरो सामुन्ने नदेख्दा मलाई उसले हिजोका दिनमा गरेका क्रियाकलापहरुको खुब झझल्को आउथ्यो । उसलाई देख्दा पनि मेरो मनलाई गाह्रो हुन्थ्यो र नदेख्दा पनि । नढाँटिकन भन्नुपर्दा म उबाट टाढिन खोज्दै थिएँ या भनौ उपाय खोज्दैथिएँ । मलाई यति धेरै गाह्रो भएको थियो कि म त्यसलाई कसैको सामु पनि भन्न सक्दिन थिएँ । र भनेको छैन पनि । उ आफै आएर मलाई बाटो देखाईदियो र म उबाट धेरै टाढाको यात्रामा निस्किएँ ।
Art Source : Rashi Chaturvedi
समयको परिवर्तनसंगै धेरै कुराहरुमा परिवर्तन आएको छ । देखिएको समय र भोगिएको समयमा धेरै अन्तर छ । म म नै हुँ, तर पनि मेरो विचार र जीवनमा धेरै नै उथलपुथल भएको छ र म यसलाई बुझ्ने पनि भएको छु । यसबीचमा मैले उसलाई धेरै नभएपनि केहि समय चाँही सम्झेको छु । आक्कल झुक्कल देखेको पनि छु । सायद समयसँगै बिचारहरुलाई पनि मैले परिवर्तन गर्दै लगेको थिएँ होला त्यसैले त म उसलाई प्रेम गर्छु कि भन्ने भावना पनि धेरै पटक आएको थियो । धेरै सोचे मैले यसबीचमा आफ्नो बारेमा अनि उसको बारेमा । अहिले उ मेरो सामुन्ने छैन र मलाई यो पनि थाहा छ कि  उ मेरो नजिक भएपनि मभन्दा धेरै टाढा छ । उसको हेराइमा पहिलेको मैले सोचेको जस्तो कुनैपनि भावभंगिमा छैन । उ जस्तो छ त्यस्तै देखिन्छ । उसको व्यवहारमा मलाई अहिले कुनै पनि अभिनय लाग्दैन ।
अहिले आएर मलाई लाग्छ म त्यो बेलामा उसको प्रेममा थिएँ, उ हैन । किनभने हिजोका हरेक क्रियाकलाप जुन उसले देखाएको थियो आज पनि उसंगको भेटमा त्यो व्यवहारमा कुनै पनि परिवर्तन छैन । तर मलाई अहिलेको यो व्यवहार राम्रो लाग्छ । मायालु लाग्छ । उसँग बिताएका आजका क्षणहरु सायद म मेरो जीवनको अन्त्यसम्म पनि भुल्न सक्दिन होला । म यसलाई माया भन्छु, प्रेम भन्छु अनि उसले मप्रति गरेको आदर स्नेह भन्छु उसले जे भनोस् । उसले मलाई जति सम्झन्छ म अहिले भन्न सक्छु त्यो भन्दा बढी म उसलाई सम्झन्छु । मलाई यो राम्रोसँग थाहा छ उसको जीवनमा अब मैले कहिल्यै पनि प्रवेश पाउँदिन । किनभने उसको जीवन मेरो जीवनभन्दा धेरै फरक भैसकेको छ ।
म यो समयमा आएर धेरै सजक भएको छु कि मेरो कारणले उसको जीवनमा कुनै पनि किसिमको नकारात्मक प्रभाव नपरोस् । त्यसैले यो कुरालाई सत्य र जीवन्त बनाउन मैले मेरो जीवनमा परिवर्तन ल्याउनैपर्छ । यो मैले गरेको स्वनिर्णय हो र म यो मेरो निर्णयमा अडिक पनि छु । सायद जब म उबाट भाग्ने उपाय खोज्दै गर्दा उसले देखाएको बाटोमा पनि उसले यही सोचेको हुनुपर्छ जुन म अहिले सोचिरहेकोछु । र मेरो यो सोचलाई मैले व्यवहारमा उतारें । मैले मेरो जीवनमा परिवर्तन गरें पनि । अब म नयाँ जीवनमा नयाँ तरिकाबाट जिउने प्रयासमा जुटें ।
नयाँ जीवन जिउनु सायद सबैलाई गाह्रो नै हुन्छ । शुरुशुरुमा मलाई पनि गाह्रो नै भयो । बिस्तारै सजिलो हुन्छ भन्ने मेरो बिश्वास थियो । तर मेरो सोच र बिश्वासले काम गरेन । मैले मेरो जीवनलाई सोचेजस्तो सरल र सहज रुपमा अगाडि बढाउन सकिनँ । निक्कै थोरै समयमा नै म यो जीवनबाट अमन भएँ र फेरि उही पुरानो जीवनमा फर्किएँ । सोचेका नाता र बुझेका व्यवहारलाई मैले आफूले परिवर्तन गर्न सकिनँ  या भएन त्यो बुझ्ने सामर्थ्य ममा छैन भन्नुपर्छ । जब म फर्किएँ  मैले छोडेको जीवनमा यति धेरै परिवर्तन आइसकेछ कि म यसमा पनि अटाउन सकिनँ । म आफैले आफूलाई  सकिएको जीवनभन्दा बढी अरु केहि पनि हैन भन्ने बुझाएँ ।
त्यसपछि म समयसँगै मेरा बिगतका ती क्षण र घटनाहरुलाई पुनरावलोकन गर्न थाले । धेरै चिजहरु पाएँ, धेरै । यहि क्रममा म त्यही समयमा आएर अडिएँ जहाँबाट मेरो जीवन मोडिएको थियो । त्यो मोडमा उभिएर मैले उसलाई हेरें  मलाई लाग्यो मेरो प्रेम, आस्था, बिश्वास अनि जीवन जिउने एउटै मात्र साधन उ मात्र हो । जसले मलाई माया गर्थ्यो मैले त्यो मायालाई चिनिन, जसले मलाई सम्मान गर्थ्यो मैले उसको आदर गरिन, जसले जीवन जिउन सिकाएको थियो त्यहि जीवन मैले जिउन सकिन ।
Art Source : bhatt mehul
अब म जिउँछु एउटा अर्कै जीवन । सायद यो जीवनबाट म कसैलाई पनि केहि हानी पुर्याउँदिन, बिशेष गरेर उसलाई । 
भावनात्मकरुपमा म यतिखेर तिमीलाई भन्छु म तिम्री प्रेमिका थिएँ, छु र रहने छु । किनकि तिमी मेरो कृष्ण हौ र म तिम्री राधिका ।

One thought on “राधा र कृष्ण

Leave a Reply