मलाई केही भन्नु छ !

Stream of Consciousness

तिमीलाई थाहा छ, आज मैले एउटा कुरा थाहा पाए नि । तिमी सँग समय छ भने म तिमीलाई त्यसको बारेमा बताउछु ।
के तिमी मलाई तिम्रो अलिकति समय दिनसक्छौ ? हैन, हतार छ भने भइहाल्यो म तिमीलाई पछी नै सुनाउछु ।
छ । ल सुन है त, म तिमीलाई मैले थाहा पाएको कुरा सुनाउछु । कुरा धेरै पहिलेको हो, जब म स्कुलमा पढ्थे । सबै साथीहरुले कविता लेखेको देखेर मैले पनि एकदिन कलम समाएर केही लेख्ने प्रयास गरे । लेख्न त के के लेखे-लेखे, मलाई नै थाहा छैन तर पनि लेखे । बिस्तारै मैले लेखेका कुराहरु बुझ्न थाले अनि मलाई लेख्नै आएन । नबिझिकन लेख्दा मलाई लेख्न धेरै आउथ्यो । तर जब बुझ्न थाले, त्यसपछी मैले लेख्न नै बन्द गरिदिए । तर आज अचानक मैले मेरा पुराना कपिका पानाहरुलाई देखे अनि पल्टाउन थाले । ति पानाहरुमा यति धेरै कुराहरु रहेछन कि जुन कुराले मलाई अहिले नचाहदा नचाहदै पनि सोच्न बाध्य बनाइरहेकाछन ।
तिमीले कहिल्यै स्कुलमा छदाँ केही लेखेको थियौ ? छौ ? के लेखेको थियौ भन त ? सम्झिउन । केही त याद होला । ए हो, आहा कस्तो रमाइलो । अनि सुनन् , एउटा च्यातिएको पानामा मेरो हजुरआमाको बारेमा लेखेको रहेछ । अहिले हजुरआमा हुनुहुन्न । हो मेरो मामा घरको हजुरआमा । उहाँ मलाई धेरै माया गर्नु हुन्थ्यो । हो सबैलाई गर्नु हुन्थ्यो तर मलाई अलि बढी । किनभने म जेठो नती परे नि त ।
हजुरआमा धेरै बोल्नुहुन्नथ्यो । जब अगाडि तीन चार जना हुन्थे तब उहाँ कुनै पनि कुरा बोल्नुहुन्नथ्यो । थाहा छैन किन । तर जब उहाँ सँग एक जना मात्र हुन्थे अनि बोल्नु हुन्थ्यो । धेरै जना भएको बेला नजिक पनि बस्नु हुन्नथ्यो । अलि टाढा बसेर कुराहरु सुन्नु हुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । किन यस्तो गर्नु भएको होला जस्तो लाग्थ्यो ।
तर अहिले उहाँ हुनुहुन्न । र आज मैले जब ति पानामा यो कुराहरु देखे मलाई लाग्यो, हजुरआमा धेरै कुराहरु गर्न चाहनु हुन्थ्यो, धेरै कुरा सुन्न चाहनु हुन्थ्यो । मनमा भएका सबै पोख्न, लागेका सबै रहरहरु साट्न, भोगेका र देखेका सबै कुराहरु । तर उहाँलाई सधैं लाग्थ्यो उहाँले उहाँले भोगेका, सुनेका, मनमा भएका रहर र बिचार कतै नराम्रा त छैनन् ?
हो । तिमीले ठीक भन्यौ । नबोलिकन कसरी थाहा हुन्छ त्यो सही हो या गलत ? आफुलाई लागेको कुरा बोल्नु पर्छ, सुनाउनु पर्छ । अब म आज बाट नै मलाई लागेको कुराहरु सुनाउछु । अरुको कुरा राम्रो सँग सुन्छु । र यदी मैले यसो गर्न सके भने म सँग कुनै गुनासो र दु:ख मनाउनु पर्ने कारण हुने छैन । र म शान्त सँग मेरो जीवन बिताउन सक्छु । किन थाहा छ ? मलाई मेरो हजुरआमाले दिनुभएको अन्तिम ज्ञान नै यही हो । जुन मैले भुलेको रहेछु । बिर्सेंको रहेछु ।
तिमीले मेरो लागि समय दियौ त्यसको लागि धेरै धेरै धन्यवाद ।

2 comments

Leave a Reply