भावनाको साथ

Stream of Consciousness

कमल: 
के छ र तिमी जसलाई बहुमुल्य मानिरहेका छौ ! त्यो केवल एक क्षणको आवश्यकता पूर्ति गर्ने साधन मात्र हो !
कोपिला:
हो, तिमीले सहि कुरा भन्यौ ! तिमी जुन मेरो भावनाको तुलना एउटा तुच्छ साधनको रुपमा मूल्याङ्कन गरिरहेका छौ तिमीबाट यो भन्दा बढी आशा नै गर्न सक्दिन !
कमल:
कोपिला, मलाई तिम्रो भावना माथी अत्याचार गर्ने, कुनै पनि किसिमको खेलवाड गर्ने न इच्छा छ न त रहर नै ! त्यहि भएर…….

Image: http://billsbigmlmblog.blogspot.com/

कोपिला:
त्यहि भएर त म भन्छु, मलाई मेरो यहि हालतमा मेरै भावना संग रम्न देऊ ! म यसैमा खुशी छु !
कमल:
सहि हो, म तिम्रो र तिम्रो भावनाको बारेमा तुलना गर्न र सोच्न योग्य नै छैन ! तिमी यहि साबित गर्न चाहन्छौ हैन ?
कोपिला:
सायद यसलाई त्यसरी पनि बुझ्न सकिन्छ !
कमल:
आकाशमा उडिरहेको चरालाई हेर्न जति सजिलो छ त्यति नै गाह्रो आफु चरा भएर उड्न ! अरु कुनै पनि कुरा तिमीलाई मैले नभने पनि एउटा कुरा चै तिमीलाई भन्न सक्छु ! जीवन, भावना र सिद्धान्त यी एकअर्काका परस्पर मित्रका साथ साथै शुत्रु पनि हुन् !
कोपिला:
कमल, मैले तिमीलाई आज मात्र हैन, जीवनको त्यो मोड देखि चिन्दै र बुझ्दै आएको छु ! जुन मोडमा तिमी पनि एक्लै थियौ र म पनि ! तिमी किन मेरो कुरालाई बुझ्ने प्रयास गर्दैनौ ? किन सधै एकोहोरो हुन्छौ, बच्चा जस्तो ?
कमल:
तिमीलाई म सधै बच्चा, नबुझ्ने मान्छे र जिद्दी लाग्छ है ? मलाई एउटा कुरा भन त, तिमी मलाई यहाँ सहयोग गर्न आएको की मेरो समस्यालाई झन गाठो पार्न ?
कोपिला:
हो, मलाई तिम्रो यो कुरा कहिल्यै मन परेन ! तिमी आफ्नो अगाडी के भैरहेको छ भनेर किन बुझ्न चाहदैनौ ?
कमल:
म बिगतलाई बनाऊ की वर्तमानलाई ? म सँग आजको लागि समय छ भने केवल विगतले दिएको पीडालाई सम्झन बाहेक अरु कुनैपनि समय छैन !
कोपिला:
म मान्छु कमल, तिम्रो लागि विगत भुलाउन कत्तिको गाह्रो छ भनेर !
कमल:
भुलाउन ? हाहाहा सम्झन नै कहिले चाहेको थिए र मैले ? बिर्सने कुरा…
कोपिला:
तिमीलाई किन मेरो विश्वास लाग्दैन ? के म मुर्ख छु ?
कमल:
हो, के म मुर्ख छु ? किन तिमी मलाई यी सब वाहियात कुरा बुझाउन खोजिरहेका छौ ? कहिले काहिँ त मलाई लाग्छ मैले नै सहि र गलत मान्छे छुट्याउन नै सकिन !
कोपिला:
तिमी मेरो फेरी भावना सगं खेल्दै छौ !
कमल:
फेरी उही कुरा ? मैले तिमीलाई भनी सके ! यो भावना भनेको केहि पनि हैन, यो त तिमीले आफ्नो मनमा पालेको बाघ मात्र हो ! जसले तिमीलाई सधै बिस्तारै बिस्तारै खाइरहेको छ ! तिमी वास्तविक जीवनबाट भाग्न चाहन्छौ ! बस् तिमीले चाहेको र अरुले पनि त्यस्तै गरोस भन्ने सोच छ तिमीमा अरु केहि छैन !
कोपिला:
मलाई थाहा छ कमल, मेरो लागि समस्या भनेको….
कमल:
समस्या भनेको के ? के समस्या ? उही एकान्तमा बसेर रुने ? यसले यस्तो गर्यो, उसले उस्तो भन्यो बस यही हैन ? भावनाको पछी लागेको ? लाग पछी, जुन दिन तिमी संग तिम्रो भावनाको नाता टुट्छ त्यसपछी मात्र तिमी मलाई भेट्नु ! मलाई कुनै आवश्कता छैन कसैको भावना बुझेर आफ्नो समस्याको समाधान गर्न !
कोपिला:
उ संग मैले गरेको अन्तिम संवाद यहि हो ! त्यसपछी मैले उसलाई कहिल्यै भेटिन ! कुरा गर्दा गर्दै बिचमै आफ्नै कोठाबाट बाहिर निस्केको कमल पुनः कहिल्यै फर्केन ! थाहा छैन, उसले मलाई किन उसको समस्या लुकायो र किन समाधानलाई समातेन ? यहि कुरा मैले आज सम्म पनि बुझ्न सकेको छैन ! र तिमी मलाई भन्दै छौ की उ भावनात्मक थियो भनेर ? म कसरी मानौ ?
शिरिष:
तिमीले जति उसको बारेमा भन्यौ र मैले जे सुनेर बुझे त्यसको आधारमा मात्र मैले उसलाई भावनात्मक मान्छे भनेको हो ! मैले उसलाई कहिल्यै भेटेको त छैन तर पनि अनुमान लगाउन सक्छु !
कोपिला:
सायद ! उ भावनात्मक थियो होला ! उफ …. जाऊ, सबै जना हामीलाई नै कुरेर बसेको छन् होला !
शिरिष:
हो त नि ! मैले त बिर्सेको ? तर एउटा कुरा चै के हो भने तिमिले उसलाई अन्तिम समय सम्म साथ दियौ त्यो नै सबै भन्दा रामो कुरा हो नि हैन र ?
कोपिला:
सायद, मेरो साथ उसले पायो या मैले अन्तिम समय सम्म उसको साथ पाए ! यो कुरालाई अब समयले नै कुनै दिन प्रष्ट पार्नेछ ! जाऊ..
शिरिष:
हुन्छ हिड !         

Leave a Reply