अन्तिम सूचना

Stream of Consciousness

आजसम्म जति सपना मैले देखें, ति केवल तिम्रा लागि मात्र थिए । तिमीलाई जस्तो राम्रो लाग्थ्यो मैले केवल त्यस्तै सपना मात्र देखें । तिमी खुसी हुन चाहन्थ्यौ मैले स्वप्नील रङगहरुसँग नाता गाँसी सम्पूर्ण खुसी ल्याईदिएँ । तिमी रुन चाहन्थ्यौ मैले आफुलाई अन्धकारमा राखी तिम्रो रुवाईमा आफैंलाई बगाइदिएँ । म तिमीलाई आजसम्मको साथलाई बधाई दिउँ या तिमीबाट मुक्त भएकोमा आफैंलाई भाग्यमानी ठानुँ ।
हुन त मैले आजसम्म तिमीलाई कुनै प्रश्न गरेको छैन । तिमी जसरी चाहन्थ्यौ म त्यसैगरी चलें । चल्न त म चलें तर मेरो लागि हैन तिम्रो लागि । तर आज अन्तिम भेटमा तिमीलाई प्रश्न गर्न मन लागिरहेछ । के तिमी मेरा प्रश्नको जवाफ दिन सक्छौ ? यदि सक्छौ भने भन तिमीले मलाई किन बेच्यौ ?

अन्तिम क्षणको पहिलो प्रश्न हो यो । सायद अन्तिम पनि । मलाई माफ गरिदेऊ कि मैले आजसम्म नगरेको काम गरें । तर के गर्नु यो क्षणमा मलाई आफुसँग तिम्रा भावना र प्रेम लैजानु छ । के तिमी मलाई तिम्रा भावना र प्रेम दिन सक्छौ ?

उसको यस्तो प्रश्न सुनेपछि मैले भनें– तिम्रा कुनैपनि प्रश्नको जवाफ मसँग छैन र म तिमीलाई मबाट केहि पनि लैजान दिनेछैन ।

मैले यति भनेपछि उसले दश रुपैंयाँको एउटा नोट मेरो अगाडी राखेर यसरी हरायो कि मेरो लागि संसार नै अँध्यारो भयो । मैले केहि पनि देख्नसकिंन, न सपना न विपना ।

मलाई एकदम गाह्रो भयो, छट्पटि भयो । उसले म प्रति देखाएको आजसम्मको बफादारीको झलक सम्झिएँ विगतदेखि वर्तमानसम्म । जब म वर्तमानसम्म आइपुगें मलाई रुन मनलाग्यो । तर मेरो विडम्बना म रुनै सकिंन । किन भने म ऊ बिना रुन पनि सक्दिन थिएँ ।त्यसैले म विवश भएर त्यत्तिकै बसीरहें, केवल बसीरहें ।

तर मैले हरेश खाएर यसरी बस्नु हुन्न । किनभने उसले भनेका कुरा र प्रश्न त केवल पाँच भागको एक भाग मात्र थियो । बाँकी चार भाग त आउनै बाँकी छ ।

यस्तै सोच्दै म आफुलाई सर्तक बनाएर बस्न खोज्दैथिएँ दोस्रो भाग पनि मतिर आएको आवाज मैले सुनें ।

ऊ मेरो अगाडी आएर आफ्नो सम्पूर्ण तिता मिठा सबैकुरा सुनाउँदै गयो । ऊ ज्यादै दु:खी छ जस्तो मलाई उसको आवाजबाट लागिरहेको थियो । मैले उसलाई हेर्न खोजें तर यतिधेरै अन्धकार थियो कि स्वयं म मैले आफुलाई नै देखिरहेको थिईंन । धेरै प्रयास गरें उसको अनुहार हेर्न तर जति प्रयास गरेपनि मैले अन्धकार मात्र पाएँ । र त्यहि अन्धकारमा उसको मधुरो दु:खीत आवाज पनि ।

धेरै बेरसम्मको उसको आवाज सुनेपछि म जुरुक्क उठें । म उठ्ने बित्तिकै उसले आफ्नो प्रश्न गर्यो– के तपाईंलाई मेरो आवश्यकता छैन ?

म केहि बोल्न सकिंन र उसको प्रश्नको उत्तरमा मैले पहिला दिएकै जवाफ दिएँ– तिम्रो प्रश्नको जवाफ मसँग छैन । मैले यति भन्ने बित्तिकै सायद ऊ त्यहाँबाट हिंड्यो ।

ऊ हिंडेदेखि तेस्रो भाग नआउन्जेल म मौनतामा नै बसीरहें । जब तेस्रो भाग आएर मेरो अगाडी उभियो, मैले विचार गरें म उसलाई अगाडीका दुईभाग जस्तो आफुलाई कुनैपनि प्रश्न गर्न दिनेछैन । मैले यो कुरा भन्न मात्र खोजेको थिएँ उसले आफ्नो कुरा सुनाउन थल्यो ।
कयौंपटक प्रयास गरें तर मबाट एक शब्द पनि निक्लिएनन् । म बोल्नै नसक्ने भएँछु । म एकछिन आत्तिएँ, ममा उकुसमुकुसको भाव पैदा हुनथाल्यो । त्यो उकुसमुकुसमा आफैंलाई हराउन थालें । मैले उसको कुरा केहि पनि बुझिंन । ऊ के भन्न खोज्दै थियो केहि पनि थाहथिएन । उसको भावहरु बुझन सकिरहेको थिईंन मैले । यस्तै अवस्था केहि समय सम्म चल्यो ।

एकैछिन पछि म उसमा केन्द्रित भए । लाग्दै थियो उसका भाव र प्रश्नहरु पनि उस्तै थियो । मैले उसलाई आफ्नो हात हल्लाएर चुपलाग्न भनें तर ऊ आफ्नो कुरा व्यक्त गरिरहेकै थियो । अनि मैले पून: हात हल्लाए । यो पटकको हात हल्लाईसँगै ऊ त्यहाँबाट हिंडिसकेछ ।

अब पालो थियो चौथो भागको । म उसलाई कुरेर बसेको थिएँ । ऊ कतिखेर आयो कतिखेर गयो म केहि भन्नसक्दिन । किनभने ऊ आएको र गएका अनुभुति मात्र छ मसँग । विचमा उसले के भन्यो, के गर्यो मलाई थाहा छैन । न मैले उसलाई देखें, न मैले उसँग कुरा गरें, न मैले उसका आवाजहरु सुनें । लागिरहेको थियो उसले गएका तिन भागहरु भन्दा पनि बढी र नौलो कुराहरु गरेको थियो । तिन भाग भन्दा पनि बढी । किनभने अगाडीका ति तिनभाग भन्दा पनि बढी समय ऊ मेरो अगाडी उभिएको अनुभुति मलाई भएको थियो । थाहा छैन यो मेरो भ्रम पनि हुनसक्छ ।

ऊ आयो कि आएन वा गयो कि गएन थाहापाउन उसलाई छुन खोजें र उठें तर आश्चर्य !
मैले टेकिरहेको जमीन नै छैन । म त हावामा तैरिए जस्तो लाग्यो । हातहरु हल्लाएँ, केहिपनि भेटिंन । लाग्छ खुल्ला आकाशमा उभिएर केहि खोजीरहेंछु ।

म आत्तिएँ, म डराएँ । म चारैतिर दौड्न खोजें तर म हावामा उडेको कपास जस्तै भएँ । मलाई केहि पनि थाहा भएन । मलाई यति मात्र थाह छ म आफ्नो कोठामा थिएँ । त्यति धेरै सामान भएको कोठामा मैले केहि पनि भेटिंन, केहि पनि छुन सकिंन । म सबै चिज खोजिरहेको थिएँ तर केहि भेटिएन । म चिच्याउन खोजें आवाज मसँग थिएन । मेरा कानहरु बन्द थिए, मेरा हातगोडाहरु केहि पनि स्पर्श गर्न सकिरहेका थिएनन् । त्यसपछि रुन थाले, आँसु विनाको रुवाई पनि म रुन सकिंन ।

त्यत्तिकैमा कतैबाट मिठो सुगन्ध आयो । एकैछिन त मैले लामो लामो सास फेरेर त्यो सुगन्धमा रम्न थालें । किनभने त्यो सुगन्ध मेरो सर्वाधिक प्रिय सुगन्ध थियो । त्यस्तै सुगन्ध जुन भंवरालाई बगैंचामा मनपर्छ । म आनन्दको सास फेरीरहेको थिएँ । मैले मेरा सारा दु:खहरुलाई बिर्सिरहेको थिएँ । म यसरी त्यो सुगन्धमा हराईरहेको थिएँ कि जसरी खोलामा एक थोपा रङ्ग हराउँथ्यो । म हराई रहें त्यहि सुगन्धमा कता कता । एकैछिनमा सुगन्ध पनि त्यसैगरि हरायो । सायद यो पाँचौ तथा अन्तिम भाग थियो ।

अब मलाई विश्वास भयो कि मेरा अविभाजित पाँच भागहरु मबाट विभाजित भैसके । मलाई छोडेर अन्यत्रै कतै गईसके ।

अब म स्वयं आफुलाई बेच्न सक्छु किनभने मसँग मेरा पाँचभागले आफैंलाई बेचेर ल्याएको पचास रुपैंया मसँग छ । यहि पचास रुपैंयाले म त्यहाँसम्म पुग्न सक्छु जहाँ मलाई किन्न सक्नेहरु छन् । म त्यहाँसम्म पुग्न सक्दिनथिएँ । मलाई थाहा थियो कि मेरा पाँच भागले मलाई छोडेर गएपछि म केहि पनि गर्न सक्दिनथिएँ । त्यसैले मैले मेरा पाँचभागलाई स्वयंलाई बेच्न पठाउनु अघि नै एउटा सूचना निकाल्ने विचार गरेको थिए । सायद त्यो बेलामा मैले सूचना लेखेकोभए मेरा आँखाहरुले थाहपाउने थिए र बेचिन गाह्रो हुन्थ्यो जति सजिलै आज बिकेका छन् । मेरा हातहरुलाईपनि त्यस्तै हुन्थ्यो । र मैले यो सूचना बोलेकोभए मेरा कान र मुखलाई पनि…। ऊफ् ।

त्यसैले मैले यो सूचना भित्रको भित्रै राखें हावालाई समेत मैले थाहा हुन दिईंन त्यसैले गर्दा नाकले पनि यो सूचना थाहापाएन । म चाहन्थें उनीहरु मसँगै बेचिएपछिको पिडा हेर्न नपरोस् । र मलाई यो पनि थाहा छ कि यदि उनीहरु मसँगै बेचिएका भए उनीहरुले मलाई कहिल्यै क्षमा गर्नेथिएनन् । त्यसैले मैले उनीहरुलाई स्वयं आफुले आफैलाई बेच्न पठाएँ । शुरुमा त उनीहरुले मानेनन् तर मैले नै जबरजस्ती बेचिन पठाएँ ।

यो समय उनीहरु मसँग छैनन् । कहाँ छन् मलाई थाहा छैन । त्यसैले मैले आफुलाई बेच्न सूचना निकालें ।

मलाई थाहा छ मेरा ति पाँच भागहरु बिना मेरो कुनै अस्तित्व छैन । मेरो कुनै मोल छैन । तैपनि म आफु बेचिन चाहन्छु ।

अन्त्यमा म यति मात्र भन्न चाहन्छु कृपया मेरो मूल्य निर्धारण गरेर, सक्नुहुन्छ किन्नुहोस या अरु कसैलाई किनीदिन आर्को एउटा

सूचना……।

Leave a Reply