एकोहोरो चिच्याहट

एकोहोरो चिच्याहट आइरहेको छ लगातार !
५ मिनेट सम्मको त्यो लगातार चिच्याहटको अन्तिम १० सेकेण्ड सँग कोही भर्‍याङ चढेको आवाज पनि मिसिन्छ । जोडले बन्द गरेको सानो झ्यालको आवाजसंगै सबै आवाजहरु हराउछन र एकैछिनमा ढोकामा लगाएको ताल्चा खोलिन्छ । जब ढोका खोलिन्छ भित्र एक प्रकारको बेग्लै अँध्यारो बातावरण देखिन्छ । लाग्छ यो कोठा वर्षौ देखी बन्द थियो र आज मात्र खोलिएकोछ ।
“कत्ति कराउन सक्नुहुन्छ ! एकैछिन पनि चुप लागेर बस्न सक्नुहुन्न ?” एउटी युवतिको यो आवाजसंगै झ्यालमा लगाइएको अर्को तल्चा पनि खुल्छ । “आफ्नो काम-धन्दा केही गर्न भ्याएको छैन – कस्लाई के धन्दा घरज्वाँईलाई खानको धन्दा भनेको यहि हो । ल ।” भन्दै ति युवती बाहिर निस्कन्छे र ढोकाको ताल्चा लगाएर जान्छे ।
त्यो अँध्यारो कोठाको एउटा कुनामा एउटी ७० बर्षे बुढी आइमाइ एकोहोरो झ्यालबाट आएको उज्यालोलाई हेरिरहेकी हुन्छे । जब भर्‍याङ बाट युवतिको पैतलाको आवाज हराउछ अनी ति बुढी आइमाइ हतारिदै झ्यालमा आउछे र बाहिरी संसारमा आफ्ना आँखा दौडौन थालछे ।
बाहिर घाम लागिरहेकोछ, मानिसहरुको चहल-पहल पनि निकै बढिसकेको छ । घामको न्यानोपन आफ्नो शरीरमा पारेर उनी बाहिरी संसार हेर्दैछिन । उनको अनुहारमा प्रशस्त खुशीका भावहरु देखिन्छन । लाग्छ उनले आज विश्व बिजय गरेकि छिन । तर अहिले सम्म उनको बोली फुटेको छैन । केहीछिन अगाडि सम्मको उनको चिच्याहट अहिले शान्त भावमा परिवर्तन भैसकेको छ ।
एकटक सँग आफ्नो आँखा बन्द नगरिकन १०-१५ मिनेट जति एकोहोरो बाहिर हेरिरहेकिछिन । बाटोमा हिंड्ने मानिसहरुले उनको यो अनुहार हेरेर भन्न सक्दैनन कि उनी विगत ६० बर्ष देखी त्यो झ्यालमा यसैगरी बसिरहेकीछिन भनेर ।
क्रमश: