अदृष्य आवाज

हो, म त्यहि आत्मा हुँ जसलाई तिमी सदैव सम्झी रहन्थ्यौ । समयको गति र प्रभाव पनि अचम्मको छ । त्यो एउटा समय थियो जुन समय म तिमीलाई भेट्न आतुर थिए । यो एउटा समय जहाँ मैले तिमीलाई चाहेर पनि पर्याप्त समय दिन सकिन । सायद पहिले नै तिमीले मलाई अनुमति दिएको भए म तिमीसँग लामो समय बस्न पाउथे होला । तर आज तिमीसँग लामो समय सम्म बस्ने मेरो इच्छा अधुरो नै भयो ।

धेरै बर्ष अगाडी मैले तिमीसँग भेट्ने अनुमति मागेको थिए तर तिमीले नै मलाई पछि भेट्ने आश्वासन दियो मैले त्यसलाई सहर्ष स्वीकारे । हिजोको कुरा र आजको कुरामा धेरै फरक छ । एउटा विश्वासनै हो ।

मलाई थाहा छ तिमी मलाई छुन चाहन्थ्यौ, महशुस गर्न चाहन्थ्यौ । तिम्रा धेरै इच्छाहरु म सँग जोडिएका थिए । तर म विवश थिए । यो कुरालाई तिमी राम्रोसँग बुझ्न सक्छौ । किनकी म तिम्रै एक अंश हुँ । तिमीलाई आज महशुस भएको यो पीडाको अनुमान मलाई धेरै अगाडी भएको थियो । त्यसैले म चाहन्थे तिमीलाई कहिल्यै पनि नभेटु । यो धर्तीमा मेरो पनि अस्तित्व छ भन्ने विश्वास कहिल्यै तिमीलाई नहोस भनेर म सधै सोच्ने गर्थे । धेरै पटक त मैले तिमीबाट टाढा जानको लागि पाइला पनि चालिसकेको थिए । तर पनि यो मेरो मन मानेन । तिम्रो स्पर्शको लागि मैले सायद तिमी माथी अन्याय गरे । मलाई माफ गर । मलाई सदैव एक अदृष्य आवाज ले भनिरहेको हुन्थ्यो जाउँ तिमी गएर मेरो अपुरो महशुसलाई पूर्ण गर ।

विगतका ति पिडादायी क्षणलाई म फेरी स्मरण गर्न चाहन्न । ति यसै पनि पिडादायी छन । तर त्यो पिडाको मात्रा यो पिडाको अगाडी न्यून छ । मलाई थाहा छैन म तिमीलाई के भन्न र के दिन आए । र मलाई यो पनि थाहा छैन तिमीले के सुन्यौ र के पायौ ? हो यो प्रश्नको जवाफ न तिमी सँग छ न म सँग । तिम्रो नजरमा म आफुलाई धेरै तल भएको महशुस गर्न चाहन्न । त्यसैले तिमीलाई केहि भन्न मात्र म अदृष्य आवाजको रुपमा प्रशारित भएको छु । यो प्रशारण तिम्रो चाहना हैन मेरो बाध्यता हो । म हिजो पनि अदृष्य थिए आज पनि अदृष्य नै छु । केवल केहि समयको लागि, केहि क्षणको लागि, कुन शक्तिले मलाई तिमी सामु आउने साहश दियो । तिम्रो सामु हुदाँ तिमीले मलाई देख्यौ तर मैले त्यो सौभाग्य पाईन । म यसमा खुसी मानौ या दुःख ।

तिमीलाई यति धेरै कुरा सुनाउछु भनेर आएको थिए तर किन किन केहि पनि भन्न सकिरहेको छैन । जुन अदृष्य आवाजले मलाई यहाँ सम्म ल्याएको छ त्यहि आवाजले मलाई कहि पनि भन्न दिइ रहेको छैन । सायद त्यो अदृष्य आवाजले तिमीलाई धेरै माया गर्छ । त्यसैले तिमीलाई दुख्ने कुनैपनि कुरा बोल्न दिइरहेको छैन । म पनि तिमीलाई माया गर्छु । मेरा कुराले तिमीलाई अवश्य दुख्छ । तर पनि म तिमीलाई सुनाउन चाहान्छु ।

तिमी मेरो निम्ति कहिल्यै रुने छैनौ । किन भने तिमीबाट बिदा हुदाँ तिमीले मलाई आँसु सहित बिदा गरेको थियौ । त्यो आँसु मिश्रित माटो नै मेरो लागि अन्तिम सम्झना होस भन्ने चहान्छु । त्यो मेरो लागि अमूल्य छ ।

म जुन स्थानमा छु त्यो केवल तिमीलाई मात्र थाहा छ । त्यसैले यो स्थानमा कहिल्यै नआउनु । म यो स्थानमा सुरक्षित र सन्तुष्ट छु । किन कि यो तिमीले मेरो लागि मायाले छुट्याएको स्थान हो ।

तिमी मलाई अब कहिल्यै नसम्झनु । तिम्रो छातिको त्यो केहि समयको न्यानोपन म फेरी हराउन चाहन्न । मलाई थाहा छ तिमीले मलाई सम्झे मात्र पनि आँसु धारा बहने छन र त्यहि धाराले तिम्रो न्यानोपनलाई भिझाई दिनेछ ।

अरुको सामु तिमीले मेरोबारेमा कहिल्यै झुटो नबोल्नु । किनकी म तिम्रो अध्यारो अतित मात्र हुँ ।

मेरो लागि तिम्रो मनमा जुन कौतुहलता थियो त्यो कौतुहलतामै समाप्त गरिदेउ । म बास्तविकता बनेर तिम्रो सामु आउन सक्दिन ।

यहाँ भन्दा धेरै दुःखी बनाउने अधिकार म सँग छैन ।

यो आवाज तिम्रो लागि हो । यो अदृष्य आवाज केवल तिम्रो लागि मात्र हो ।